काठमाडौं- काखमा छोरो बोकेकी उनी आकाशतिर टोलाउँदै थिइन्। चारमहिने छोरो भोकाएको महसुस गरेर उनले दूधदानी मुखमा लगाइदिइन्। शिशु 'निप्पल' तान्दै त्रिभुवन विमानस्थल आवागमन कक्षको भिडतिर आँखा डुलाउन थाल्यो। केही बेरमै बेतालको आवास निकाल्दै आकाशमा वायुसेवा निगमको विमान देखा पर्यो जसमा दुई दिनअघि अफगानिस्तानमा आतंकवादका क्रुर पन्जाले चुँडेका '१२ थुंगा फूल' बाकसमा मातृभूमि ल्याइँदै थियो। बुटवलकी सञ्चिता थापा चारमहिने छोरो बोकेर पति जितेन्द्र सिंह थापाको शव बुझ्न विमानस्थल पुगेकी थिइन्। अगाडि पतिको शव राखिएको बाकस देख्नासाथ उनले मन थाम्न सकिनन्।
हृदयविदारक चित्कार विमानस्थल परिसरमा प्रतिध्वनित हुँदै हरायो। सञ्चिता रुँदारुँदै बेहोस भइन्। वरपर रहेका कसैले मन थाम्न सकेनन्। भक्कानिँदै आँखा पुछ्न थाले। जेनिश आफन्तको काखमा बसेर आँखा डुलाइरहेको थियो। आमा बेहोस भएर ढल्दा उनलाई सम्हाल्न आउने बुबा आज उनको साथमा थिएनन्। आतंकवादीसँग दुःख, पीडा र माया महसुस गर्ने मनमुटु हुँदैन, त्यसैको अथाह पीडा यो चारमहिने अबोध शिशु भोग्दै थियो आज, त्यसैले बनाइदिएको जीवनभर नभरिने घाउ जो मुटुमा लिएर। तीन महिनाअघि मात्र बिदा मनाउन स्वदेश आएका थिए जितेन्द्र। त्यही बेला पहिलोपल्ट एकमहिने छोरो खेलाएका थिए उनले। 'नचिन्दै बाबुसँग खेल्यो, कति अभागी रहेछ, अब खेल्न त के बाबुलाई चिन्नै नपाउने भयो,' शिशुलाई दयाले च्याप्दै ती आफन्त भक्कानिइन्।
धेरै कमाउने सपना पालेर अफगानिस्तान पुगेका १२ नेपालीको सोमबार तालिबानी आत्मघातीले बम आक्रमण गरी ज्यान लिएका थिए भने सात जनालाई घाइते बनाइदिएका थिए। तिनै १२ मृतकको शव बुधबार सरकारले विमान चार्टर गरी स्वदेश ल्याएको हो। परिवार र आफन्तजनले बुधबारै शव बुझेर अन्तिम संस्कार गरे। घाइतेमध्ये थप एकको बुधबार निधन भएको छ। शव बु‰न आएका मृतकका परिवार र आफन्तजनको पीडाले विमानस्थल परिसर आँसुले रु‰यो। उनीहरुका क्रन्दनले सबैको मन छियाछिया पार्यो। मारिएका ती नेपाली फूल मात्र थिएनन्, उनीहरूसँग अरू अनेकौं पत्रदल जोडिएका थिए। काबुलबाट हजारौं माइल टाढा रहेका नेपाली मन त्यो आत्मघाती बारुदले छियाछिया पार्यो। बाबु गुमाएका चारमहिने अबोध शिशुले उत्सुकतामा चारैतिर आँखा घुमाउँदाको दृश्य होस् या छोराको शव पर्खेर बसेका ७५ वर्षीय वृद्धको मुहार, सिंगो देशकै पीडा झल्कन्थ्यो त्यहाँ। दुई छोरी र एक छोरो लिएर विमानस्थल आएकी काठमाडौं, धुम्बाराहीकी गंगाकुमारी रानामगरको अवस्था झन् पीडादायी थियो। केही बेरअघिसम्म 'बुबालाई केही भएकोे छैन, बुबा आउनुहुन्छ' भनेर आमालाई सम्झाउँदै गरेका आठवर्षीय अनुपराज मगरले बाबु चन्द्रबहादुरको शव बाकसमा राखिएका फूल र फोटो नियाल्दै आँसु झारे। कलिलो नेपाली हृदय तालिबानी आक्रमणको तीन दिनपछि अचानक छियाछिया भएको थियो। परिवारको लालनपालन र सुखद जिन्दगीको सपना पालेर परदेश गएका उनीहरुको शव दिउँसो तीन बजे विमानबाट ओरालिँदा यस्तो लाग्थ्यो, आकाशबाट पानी होइन, आँसु बर्सिरहेको छ।
'आत्मा रोएको छ, पानी कसरी थामिन्छ र?' निथु्रक्क भिजेर दुधेबालक जेनिशलाई नियाल्दै गरेकी एक महिलाको प्रतिक्रिया थियो, 'यस्तो दुःख त शत्रुलाई पनि नपरोस्।' नेपाली सेनाका जवानले शवबाकस ओराल्दै गर्दा विमानस्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, श्रममन्त्री दीपक बोहरा, गृहमन्त्री शक्ति बस्नेत, पर्यटनमन्त्री आनन्द पोखरेल र स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही सबैका अनुहार मलिन देखिन्थे। प्रधानमन्त्री ओलीले काबुल घटनालाई 'कायरतापूर्ण' भन्दै मृतकका परिवारलाई सरकारले सहयोग गर्ने ढाडस दिए।
परराष्ट्र मन्त्रालयका अनुसार शवसँगै उक्त विमानमा २४ नेपाली कामदार पनि फर्किएका छन्। त्यसैमध्येका एक थिए– सत्यनारायण श्रेष्ठ। आर्मीमा पेन्सन पाएका काबुल पुगेका उनी आक्रमणको समयमा ड्यटीमा थिए। 'घटनालगत्तै घरपरिवारको सम्झना आयो,' उनले भने, 'अहिले त्यो बिरानो ठाउँ छाडेर आफ्नै घर फर्केको छु।' पैसाभन्दा जीवन ठूलो ठान्दै आफू नेपाल फर्किएको प्रतिक्रिया उनले दिए। उनले यसो भन्दै गर्दा केही पर सयौँ नेपाली हातमा झोला बोकेर खाडीलगायत मुलुकतिर जाँदै गरेको दृश्य देखिन्थे।







0 comments:
Post a Comment